काठमाडौँमा ग्यासको हाहाकार मच्चिएपछि तराईका विभिन्न जिल्लाका उद्योगहरूले राजधानीमा भरिएका सिलिन्डर धमाधम पठाउन थालेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका ग्यास उद्योगहरूले अहिले दैनिक १४ घण्टासम्म बोटलिङको काम गरिरहेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाका नेपाल ग्यास तथा नारायणीले दैनिक दुई सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन्। यी प्लान्टहरूमा जडान गरिएका २४ वटा बोटलिङ उपकरणले एक मिनेटमै २४ सिलिन्डर भर्ने क्षमता राख्छन्।
यसैगरी, धनुषाको नोबेल, बाराका वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको चन्डेश्वरी ग्यासले पनि सिलिन्डर बोटलिङ गरेर उपत्यका पठाइरहेका छन्। यी उद्योगहरूले दैनिक १० हजार हाराहारी सिलिन्डर भर्ने गरेको बताइन्छ, जसमध्ये आधा स्थानीय बजारमा खपत हुन्छ भने बाँकी काठमाडौँ पठाइन्छ।
ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरी बजारसम्म पुर्याउनेसम्मको काममा सबै उद्योगी सक्रिय रहेको कालाखेतीले जानकारी दिए। सामान्य अवस्थामा उपत्यकामा दैनिक ४० हजार सिलिन्डरको माग हुने गरे पनि अहिले यो बढेर करिब एक लाख पुगेको छ। गत बुधबार मात्रै ५३ हजार ४६९ सिलिन्डर पठाइएको थियो। यो सङ्ख्या भने दैनिक तलमाथि हुने गरेको छ।
चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौँसम्म पुर्याइन्छ। तर, साँघुरो सडक, सवारीको उच्च चाप र बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानीमा असहजता हुँदा समस्या थपिएको छ।




