करिब २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगञ्ज चिनी मिल पुनः सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययन अघि बढेको छ। यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको कार्यदलले मंगलबार मिलको स्थलगत निरीक्षण गरेको छ।

सहसचिव श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी तथा उपकरणको प्राविधिक मूल्याङ्कन गरेको हो। यसले मिलको वर्तमान अवस्था, विगतका निर्णयहरू र यसअघि तयार भएका अध्ययन प्रतिवेदनहरूको समेत समीक्षा गर्नेछ।

मन्त्रिपरिषद्को निर्णयअनुसार खारेज भएको वीरगञ्ज चिनी मिलको अवस्था र यसलाई पुनः सञ्चालन गर्न आवश्यक कदमबारे अध्ययन गर्न मन्त्रालयले भदौ १ गते यो कार्यदल गठन गरेको थियो।

कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्यका रूपमा छन्। उनीहरूलाई अध्ययन पूरा गरी १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलको यो अध्ययनसँगै लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको बजारका जानकारहरूले बताएका छन्।