नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित फलाम खानी उत्खननका लागि धौवादी फलाम कम्पनी लिमिटेडले विस्तृत योजना खानी तथा भू–गर्भ विभागमा पेस गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस खानीबाट ९ करोड ६० लाख टन धाउ फलाम निकाल्न सकिने प्रतिवेदन विभागमा बुझाएको हो।

प्रस्तावित खानी क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ: धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटरमा फैलिएको छ भने दुर्लुङ ब्लकको क्षेत्रफल १६ वर्ग किलोमिटर रहेको छ। यो योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान र उत्खनन कार्य अघि बढाउने तयारी गरेको छ।

नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित धौवादी फलाम कम्पनी लिमिटेड स्थापना भएको हो। कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार, जमिनमुनिको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी कुल १ हजार ५०० मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ।

अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ। कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि छिट्टै सुरु गरिने जानकारी दिएको छ।

निर्देशक थापाले खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको कुल मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको बताए। उनको विश्वास छ, यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भई राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुग्नेछ।

खानीसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम पनि सँगसँगै भइरहेको कम्पनीले जनाएको छ।