प्रिफ्याब प्यानल नेपाल प्रालिले उत्पादन गर्दै आएको ‘स्मार्ट प्यानल’ को नयाँ कर्पोरेट कार्यालय काठमाडौंको पेप्सीकोलामा सञ्चालनमा आएको छ। बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका मन्त्री सुरेश श्रेष्ठले उक्त कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले निर्माण क्षेत्रमा आधुनिक प्रविधि र स्वदेशी उत्पादनको प्रयोग बढाउनु पर्नेमा जोड दिए। उनले नेपाली उद्योगले गुणस्तरीय उत्पादनमार्फत बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन लागेको स्मार्ट प्यानलको यो कदम सकारात्मक रहेको बताए।

‘करिब दुई वर्षअघि १० करोडको लगानीबाट सुरु भएको यो कम्पनी आज २५ करोडभन्दा बढी लगानी, करिब ३५ प्रत्यक्ष रोजगारी, ५०० भन्दा बढी परियोजनामा सहभागिता र देशभर ६ वटा डिलरको सञ्जाल निर्माण गर्न सफल हुनु आफैंमा प्रशंसनीय उपलब्धि हो,’ उनले भने।

उनले सरकारले पनि यस्ता स्वदेशी उद्योगलाई प्रविधि, लगानी, कर तथा बजारका क्षेत्रमा आवश्यक सहजीकरण गर्नुपर्ने बताउँदै निजी क्षेत्रले उत्पादन, रोजगारी र नवप्रवर्तनमा लगानी बढाउँदै जानुपर्छ बताए। यस्तै, पछिल्लो समय परम्परागत निर्माण प्रणालीको तुलनामा छिटो, किफायती र व्यवस्थित निर्माण प्रविधिप्रति आकर्षण बढ्दै गएको अवस्थामा स्मार्ट प्यानलको बजार विस्तार हुँदै गएको छ।

चितवनको भरतपुरमा उद्योग स्थापना गरी त्यहाँबाट उत्पादन हुँदै आएको स्मार्ट प्यानल प्रडक्टको माग क्रमशः बढ्दै गइरहेको कम्पनीको भनाइ छ। कम्पनीका अध्यक्ष नारायण रेग्मीले आगामी दुई वर्षभित्र आईपीओ समेत जारी गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए। त्यसका लागि कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ प्रविधिको प्रयोग, बजार विस्तार, संस्थागत सुशासन र वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढेको बताए।

कम्पनीका सीईओ बिमलराज गोसाईंले यो कार्यालय उद्घाटन मात्र नभई कम्पनीको आगामी यात्राको प्रतिविम्ब रहेको बताए। उनले कम्पनीको आगामी लक्ष्य पूरा गर्दै स्मार्ट प्यानलको उचाइ नयाँ स्थानमा पुर्याउने उद्देश्य रहेको समेत जानकारी दिए।

‘करिब दुई वर्षअघि १० करोडको प्रारम्भिक लगानीमा स्थापना भएको कम्पनीमा हालसम्म करिब २५ करोड लगानी भइसकेको छ, उत्पादन क्षमता विस्तारका लागि चीन र कोरियाबाट थप अत्याधुनिक मेसिनरी तथा उपकरण ल्याउने प्रक्रिया अघि बढाइएको छ, यसमा करिब २० करोड बराबरको थप मेसिनरी लगानी हुने र आगामी चरणमा कम्पनीको कुल लगानी करिब ७५ करोड रुपियाँसम्म पुर्याउने लक्ष्य रहेको छ,’ उनले भने।

गोसाईंका अनुसार प्यानलको प्रयोग आवासीय भवनसँगै औद्योगिक भवन, गोदाम, सटर, कृषि तथा अन्य संरचना निर्माणमा गर्न सकिन्छ। हलुका तौल, छिटो जडान, तापक्रम नियन्त्रणमा सहयोग तथा निर्माण समय घटाउनेजस्ता विशेषताका कारण स्मार्ट प्यानल बजारमा लोकप्रिय बन्दै गएको उनको भनाइ छ।

नयाँ कर्पोरेट कार्यालयमार्फत ग्राहकलाई उत्पादनसम्बन्धी जानकारी, डिजाइन तथा प्राविधिक परामर्श र बिक्रीपछिको सेवा थप व्यवस्थित रूपमा उपलब्ध गराउने गोसाईंले जानकारी दिए। साथै, कार्यक्रममा उद्योगी, व्यवसायी, निर्माण क्षेत्रका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कम्पनीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै निर्माण क्षेत्रमा नयाँ प्रविधिको विस्तारमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।