एलपीजी ग्यास उद्योग संघ नेपालले हालै बजारमा देखिएको ग्यासको अभाव र मूल्य वृद्धिको गम्भीर चिन्ता व्यक्त गर्दै, आपूर्ति स्थिति सुधारिँदै गएको संकेत गरेको छ। संघले उपभोक्तालाई सान्तवना दिने सन्देशका साथ, अनावश्यक भण्डारणबाट बच्न अपील गरेको छ।
आयात दोब्बर, पूर्ण सिलिण्डर पुनः बजारमाअन्तर्राष्ट्रिय परिस्थितिको सुधारसँगै आयात दोब्बर भएको सूचना संघले सार्वजनिक गर्यो। विगतमा तेस्रो मुलुकमा उत्पन्न अप्रत्याशित द्वन्द्वका कारण केवल ७.१ केजीको आधा सिलिण्डर उपलब्ध गरिन्थ्यो, तर अहिले १४.२ केजीको पूर्ण सिलिण्डर नियमित रूपमा बजारमा पठाइँदैछ।
संघका अनुसार विगत चार महिनामा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएको थियो। यही अभावका कारण बजारमा ग्यास पाइँदैन कि भन्ने डरले उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्दा बजारमा चाप बढेको र अभाव देखिएको संघको विश्लेषण छ ।
संघले जससँग कम्तीमा एक महिनाको ग्यास मौज्दात छ, उनीहरूलाई तत्काल ग्यास लाइनमा नबस्न, तथा विक्रेताहरूलाई वास्तविक आवश्यकता भएका ग्राहकलाई प्राथमिकता दिन र पारदर्शी वितरण गर्न निर्देशन दिएको छ। उद्योगीहरूलाई व्यवस्थित ढंगले बजारमा ग्यास पठाउन आग्रह गरिएको छ।
बजार पूर्ण रूपमा सहज नहुन्जेलसम्म नेपाल आयल निगमले नियमित कोटाभन्दा बढी ग्यास आयात गर्नुपर्ने संघको माग छ ।




