वर्षौँदेखि घाटा, प्रबन्धकीय कमजोरी र बन्द अवस्था भोगिरहेका सरकारी स्वामित्वका उद्योगहरूलाई जीवित बनाउने प्रयासमा सरकारले ठोस कदम चालेको दाबी प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। उनले कानुनी कार्यान्वयन, व्यवस्थापकीय सुधार, सहजीकरण, उत्प्रेरणा र निरन्तर टिमवर्कलाई आधार मान्दै पाँच प्रमुख संस्थामा प्रारम्भिक सकारात्मक संकेत देखिएको बताए।

नेपाल औषधि लिमिटेडको लाभ‑बृद्धि

लामो समय घाटामा चलिरहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संस्थाको (WHO) ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुबैमा उल्लेखनीय बृद्धि भएको सरकारले देखाएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको थियो, र चालु आर्थिक वर्षको लक्ष्य ३० करोड रुपैयाँको औषधि बिक्री राखिएको छ।

आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने योजना छ; यस वर्ष ३७ प्रकारको औषधि उत्पादन गर्ने लक्ष्यमा २५ प्रकारको तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारको औषधि उत्पादन भैरहहेको छ। सरकारले यसलाई आयात निर्भरता घटाउने रणनीतिक कदमका रूपमा पनि देखेको छ।

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन

दशकौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादन पनि भईसकेको प्रधानमन्त्रीले जनाएको छ। परीक्षण सफल भएपछी सरकार नै उद्योग सञ्चालन गर्ने योजना छ।

तर, उत्पादन लागत, मेसिनरीको अवस्था, जनशक्ति, कच्चा पदार्थको आपूर्ति, बजार पहुँच, ब्रान्ड प्रतिस्पर्धा र बिक्री व्यवस्थापन जस्ता विषयहरू उद्योगको दीर्घकालीन सफलतामा निर्णायक रहनेछन्।

नेपाल एयरलाइन्सको आय र सीट उपयोगिता बृद्धि

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आय सङ्ग्रह गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। उक्त अवधिमा सीट उपयोगिता ८६ प्रतिशत पुग्यो, जसले अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतको बृद्धि दर्शाउँछ।

जाहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १ अर्ब ६ करोड १९ लाख रुपैयाँको ऋणको किस्ता पनि यही अवधिमा भुक्तानी गरिएको छ। आय बृद्धि र उच्च सीट उपयोगिताले सुधारको प्रारम्भिक संकेत दिईरहेको भए पनि, संरचनागत समस्याहरू र वित्तीय निर्भरता घटाउन अझै धेरै काम बाँकी छ।

डीडीसी र सिंहदरबार वैद्यखाना

दुग्ध विकास संस्थान (DDC) र सिंहदरबार वैद्यखानामा पनि उत्पादन तथा सेवामा सुधारको केही सूचक देखिएको उल्लेख गरिएको छ, तर विस्तृत आँकडा उपलब्ध नभएको कारण यसले दीर्घकालीन प्रतिस्पर्धात्मकता कति कायम रहनेछ भन्ने स्पष्टता छैन।

प्रधानमन्त्रीका अनुसार, यी प्रारम्भिक नतिजाहरूले ‘सरकारी उद्योग चल्न सक्दैनन्’ भन्ने धारणामा प्रश्न उठाएका छन्। यथार्थमा दीर्घकालीन सफलता उत्पादन क्षमता, निरन्तर नाफा, बजार प्रतिस्पर्धा, व्यवस्थापकीय दक्षता र सरकारी वित्तीय निर्भरता घटाउन सक्ने क्षमतामा निर्भर रहनेछ।