नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्व दिएको निर्णय सही दिशामा गएको देखिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन र विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवका कारण सन्दीपको कप्तानीमा पुनरागमन सम्भव भएको हो। क्यानले कप्तानका साथै केही खेलाडी पनि परिवर्तन गरेको थियो।
कप्तान नियुक्त भएपछि सन्दीपको सामु एसिसी एसिया कपमा छनोट हुने ठूलो चुनौती थियो। नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीका बाबजुद सन्दीपले दुवै भूमिकामा उत्कृष्ट प्रदर्शन गरे। उनको नेतृत्वमा नेपालले एसीसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो, जसमा पाँचमा जित र एकमा हार व्यहोर्यो। समूह विजेताको हैसियतमा टोली सेमिफाइनलमा पुग्यो र सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै उपाधि जित्यो र दोस्रोपटक एसिया कपमा स्थान बनायो। नेपालको एसिया कप यात्रामा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो। उनले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब कायम राखे। सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को इकोनोमी रेटमा १७ विकेट लिए, जुन प्रतियोगिताकै सर्वाधिक हो। टोलीको सफलतामा निर्णायक प्रदर्शन गरेका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनी एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन भएका हुन्। उनले सन् २०२३ को संस्करणमा पनि यो अवार्ड प्राप्त गरेका थिए।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीका अनुसार सन्दीपले यसपटक व्यक्तिगत प्रदर्शनका साथै कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भयो। चौधरीले भने, “एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो। उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहेका छन्, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ। प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गरे। टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उनको कप्तानी उत्कृष्ट रह्यो। आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ।”
क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताए। टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उनले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताए। चौधरीले भने, “सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन। बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो।”
अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको चौधरीले बताए। नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ। चौधरीले भने, “नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ। जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ। यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन। एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ। नेपालले त्यसको फाइदा उठाउन सक्छ।”
ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ। नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ। नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ। शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ। नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ।




