नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा बढी विद्युत निर्यात गर्ने योजना बनाएको छ। वर्षाको सुरुवातदेखि नदीमा पानीको बहाव बढेकाले विद्युत उत्पादनमा सहयोग पुगेको छ। श्रेष्ठका अनुसार यस वर्ष ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिब २४–२५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको बताए। यस वर्ष ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने जानकारी दिए। पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भएको उनले बताए।

गत वर्ष नेपालले २९ अर्ब रुपैयाँको विद्युत निर्यात गरेको थियो। यस वर्ष भोटेकोसी बाडीको क्षति पुगेपनि वर्षाको उत्तम भएकाले विद्युत उत्पादन बढेको छ। विद्युत उत्पादन बढ्दा निर्यातको परिमाण र आम्दानीसमेत बढ्ने श्रेष्ठको भनाइ छ।

नेपालले देशभित्रको विद्युत माग पूरा गरी वचत भएको वर्षायामको विद्युत भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट हुँदै आएको छ। द्विपक्षीय विद्युत विक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत विक्री गरिन्छ भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा विक्री हुँदै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ। यसरी भारतमा हुने विद्युत व्यापारसँगै बंगलादेशमा समेत नेपालले वर्षायामको अतिरिक्त विद्युत निर्यात गर्दै आएको छ।