तिहार पर्व नेपालीहरूको दोस्रो महान पर्व हो, जहाँ फूलहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। घर, आँगन र पूजाकोठामा सयपत्री, मखमली र गोदावरी जस्ता फूलहरू झिलमिल बनाउँछन्।
फ्लोरिकल्चर एशोसियसन नेपालका अनुसार, यस वर्ष तिहारमा करिब ५१ लाख ८० हजार वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। यसमा सयपत्री, मखमली र गोदावरी जस्ता फूल मिसाएर तयार गरिने मालाहरू समावेश छन्।
अध्यक्ष राजेश भक्त श्रेष्ठले भने, 'सयपत्री फूलका करिब ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका करिब ६० हजार माला खपत हुने अनुमान गरिएको छ। यी मध्ये अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने अपेक्षा गरिएको छ।'
फूलका पोली र गमलाको कारोबार पनि तिहारमा ठूलो हुने भएकाले समग्र पुष्प बजार अझ ठूलो हुने देखिएको उनको भनाइ छ।





