गत असोज १ गतेदेखि मकवानपुरको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दसैँ, तिहार र छठका लागि सुपथ मूल्यमा खाद्यान्न बिक्री थालेको थियो। यी पर्वको अवधिमा नुन, चिनी, तेल र मैदा सस्तोमा उपलब्ध गराइएपछि आठ लाख रुपैयाँ भन्दा बढीको बिक्री भएको हो।

कार्यालय प्रमुख मधुसुधन अधिकारीले दसैँको बिदासम्म चलेको यो व्यवस्थामा निर्देशनअनुसार तोकिएको छुटमा सामान बिक्री गरिएको बताए। सरकारको निर्देशन अनुसार यो व्यवस्था संचालनमा ल्याइएको थियो।

सर्वसाधारणलाई समान रूपमा सुविधा दिने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको उनले स्पष्ट पारे।

बजारभन्दा कति सस्तोमा बिक्री भएको छ भने— चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको थियो।

यो अवधिमा ६० बोरा चिनी (प्रत्येक ५० किलो), १० क्विन्टल नुन, सात क्विन्टल मैदा र ५०० लिटर तेल बिक्री भएको कार्यालयले जनाएको छ।

कात्तिक मसान्तसम्म यो सुपथ मूल्यको व्यवस्था जारी रहने प्रमुख अधिकारी अधिकारीले स्पष्ट पारेका छन्।

यही उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा पनि सुपथ मूल्य पसल सञ्चालन गरेको छ।