काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवर्द्धन अनिवार्य आवश्यकता भएको बताएका छन्।
उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्त्व बहुआयामिक हुने उल्लेख गरे। यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उनको विश्वास छ।
अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक भएको चर्चा गर्दै उपराष्ट्रपति यादवले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर बन्ने आधार तयार पारेको बताए। विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उनले उल्लेख गरे। साथै, कार्बन उत्सर्जन न्यून गर्दै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न ‘ईभी’ प्रविधि निर्णायक सावित हुने उनको भनाइ छ।

वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिए। यसका लागि नीतिगत स्थायित्व र चार्जिङ स्टेशन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उनको सुझाव छ।
उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकास र यसबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्ने बताए। नयाँ सोच र स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको लहर सिर्जना गर्न नाडा अटो शोले योगदान पुर्याउने उनले अपेक्षा गरे। स्वदेशी कच्चा पदार्थमा आधारित अटोपाट्र्स उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउन उनले व्यवसायीहरूलाई आग्रह गरे।
उपराष्ट्रपति यादवले भने, ‘हाम्रो देश जलस्रोतमा धनी छ र हामी जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेका छौँ। यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै बुद्धिमानी र दिगो उपाय हो।’
नाडाको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले देशको समृद्धिका लागि निजी क्षेत्र, सरकार र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य रहेको समेत बताए।




