काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डर एलपी ग्यास २ हजार ६० रुपियाँमा खरिद गर्न पाउने भएका छन्। पृथ्वी राजमार्गमा पहिरोका कारण अवरुद्ध ग्यास बुलेटको आवागमन पुनः सुरु भएपछि ग्यासको मूल्य घटाइएको हो। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले बुधबार राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसमा आयोजित छलफलमा उपत्यकामा ग्यास बुलेट भित्रिन थालेको र बिहीबारदेखि आपूर्ति सहज हुने जानकारी दिए।

भदौ १४ गते कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो, जसकारण ग्यासका बुलेट काठमाडौँ आउन सकेका थिएनन्। यस अवधिमा तराईका प्लान्टबाट साना सवारीसाधनमार्फत उपत्यकामा ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै उद्योगीले प्रतिसिलिन्डर १०५ रुपियाँ ३८ पैसाले मूल्य वृद्धि गरी २ हजार १६५ रुपियाँ ३८ पैसा कायम गरेका थिए। अध्यक्ष चन्दले आपूर्ति नियमित भएपछि उपभोक्ताले घरनजिकैका विक्रेताबाट सहज रूपमा ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था गरिने बताए।

आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव जितेन्द्र बस्नेतले भारत सरकार थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन सकारात्मक रहेको जानकारी दिए। हाल मासिक ५० हजार मेट्रिक टन ग्यास आपूर्ति भइरहेकामा त्यसलाई बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी पुर्‍याउन कूटनीतिक पहल भइरहेको छ। प्रतिनिधि सभा सदस्य तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाशसिंह कार्कीले ग्यास अभावको समस्या व्यवसायीभन्दा पनि बिचौलियाका कारण उत्पन्न भएको दाबी गरे। सहसचिव बस्नेतले घरमा अतिरिक्त सिलिन्डर भएका उपभोक्ताले थप ग्यास भण्डारण गर्न खोज्दा अभाव झनै जटिल बनेको बताए। उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ग्यास अभावसँगै चिनी, चामललगायत खाद्यवस्तुको मूल्यवृद्धि र बजार अनुगमन प्रणालीको कमजोरीका विषयमा ध्यानाकर्षण गराए।

मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास आयात भइरहे पनि बजारमा उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकेका थिएनन्। नेपाल आयल निगमका अनुसार त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै काठमाडौँतर्फ ग्यास ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरबाट मङ्गलबार ६ वटा र बुधबार २५ वटा ग्यास बुलेट पास भएका छन्। निगमको एलपी ग्यास विभागका प्रमुख विनितमणि उपाध्यायले मुख्य राजमार्ग अवरुद्ध हुँदा साना सवारीसाधनबाट ग्यास ढुवानी गर्नुपरेको र त्यसले आपूर्ति सीमित भएको बताए। बुलेट आवागमन सुरु भएपछि ग्यास अभाव कम हुँदै जाने उनको भनाइ छ। धादिङमा अधिकांश ग्यास उद्योग रहेकाले बाटो खुलेसँगै उद्योगहरूले ग्यास रिफिलिङ गरी बजारमा पठाउनेछन्। एउटा बुलेटमा करिब १ हजार २५० सिलिन्डर ग्यास आउने गर्छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष चन्दका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुन्छ। अहिले पनि सोही परिमाणमा ग्यास आयात भइरहे पनि माग अत्यधिक भएकाले उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको उनले बताए। पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण आपूर्तिमा समस्या देखिएपछि गत फागुन २८ गतेदेखि चार महिनासम्म आधा तौलका सिलिन्डर वितरण गरिएको थियो। पछिल्लो समय सडक अवरोधका कारण थपिएको अभाव हटाउन बुलेट आवागमन नियमित हुनु महत्त्वपूर्ण मानिएको छ। ग्यास आपूर्ति सहज हुँदै गएपछि लामो समयदेखि line मा बस्न बाध्य उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ।