पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा पहिरोले सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति भने रोकिएको छैन। नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरेर तराईका विभिन्न उद्योगबाट ग्यास रिफिल गरी काठमाडौं ल्याउने प्रबन्ध मिलाएपछि पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास भित्रिएको छ।
निगमको तथ्यांकअनुसार भदौ १८ गते २४ हजार ४९४ सिलिण्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिण्डर र भदौ २० गते २९ हजार २४९ सिलिण्डर ग्यास काठमाडौं भित्रिएको हो। कृष्णभीर खण्डको सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका खाली सिलिण्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगमा रिफिलका लागि पठाइएको थियो। त्यहाँबाटै वैकल्पिक मार्ग हुँदै ग्यास काठमाडौं ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
यी तीन दिनमध्ये भदौ १९ गते सबैभन्दा धेरै ग्यास काठमाडौं भित्रिएको देखिन्छ। त्यस दिन मात्रै ३४ हजार १३४ सिलिण्डर ग्यास आपूर्ति भएको थियो। निगमका अधिकारीहरूका अनुसार कृष्णभीर खण्डको सडक नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट एलपी ग्यास ल्याएर बिक्री–वितणको व्यवस्था निरन्तर रहनेछ। सडक अवरोधका कारण काठमाडौंमा ग्यासको आपूर्ति प्रभावित हुन नदिन निगमले तराईका उद्योग र वैकल्पिक सडकमार्ग प्रयोग गरेर आपूर्ति व्यवस्थापन गरिरहेको छ।




