वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ विपरीत कसुर गरेको भन्दै यस्तो कारबाही गरेको हो।

विभागले सात दिनभित्र जरिवाना रकम बुझाउन कर्पोरेशनलाई आदेश दिएको छ। तोकिएको समयावधिमा रकम नबुझाए थप कारबाही अघि बढाउने चेतावनीसमेत पत्रमा उल्लेख छ।

यदि विभागको आदेश चित्त नबुझे, त्यसको जानकारी पाएको सात दिनभित्र जरिवाना रकमको ५० प्रतिशत धरौटीस्वरूप तोकिएको खातामा जम्मा गरी विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्थासमेत रहेको बताइएको छ।

ऐनको दफा ३८ को खण्ड ‘ङ’ ले अनुचित व्यापारिक क्रियाकलाप गर्ने वा गराउनेमाथि कारबाही गर्ने प्रावधान राखेको छ। विभागले काठमाडौं महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनका प्रज्वलमान प्रधानलाई पत्र पठाउँदै यो जरिवाना तिर्न निर्देशन दिएको छ।