१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको महत्वपूर्ण दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानसम्बन्धी कानुनी प्रक्रियाले पूर्णता पाएको छ। लामो समयदेखि पर्खिएको यो स्वीकृतिका कारण अब निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रसारणलाइन क्षेत्रमा पर्ने रुखहरूको छपान तथा टाँचा लगाउने काम सकिएपछि डिभिजन वन कार्यालयले थप १२ वटा सामुदायिक वनमा प्रवेश गरी रुख काट्न अनुमति दिएको थियो। योसँगै, तनहुँ जिल्लाभर प्रसारणलाइनको मार्गमा पर्ने सबै १७ वटा सामुदायिक वनमा रुख कटानका लागि आवश्यक कानुनी स्वीकृति जुटिसकेको छ।
प्रसारणलाइन क्षेत्रभित्र पर्ने वनमध्ये देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिकामा छ र व्यास नगरपालिकामा पनि छवटा सामुदायिक वन रहेका छन्।
तनहुँतर्फको प्रक्रियाले पूर्णता पाउँदा, प्रसारणलाइनको अर्को पाटो चितवनतर्फ भने रुख कटानको काम अहिले पनि जारी रहेको जानकारी आयोजना प्रमुख भण्डारीले दिए।
दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर दूरीमा जम्मा ९४ वटा टावर ठड्याउनुपर्नेछ। भारतीय निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेडले अहिलेसम्म ८३ वटा टावरको जग हाल्ने र ७८ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ।
आयोजना प्रमुख भण्डारीका भनाइमा, प्याकेज–३ को समग्र भौतिक प्रगति ८२ प्रतिशतमा पुगेको छ। तनहुँतर्फ रुख कटानको स्वीकृति प्राप्त भएसँगै प्रसारणलाइन निर्माणको बाँकी कामलाई अब थप तीव्रता दिन सहज हुने आयोजनाको बुझाइ छ।
यसबाहेक, समग्र आयोजनालाई तीनवटा मुख्य प्याकेजमा विभाजन गरी काम अघि बढाइएको छ। पहिलो प्याकेजमा बाँधसहितका संरचना निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले लिएको छ, जसको प्रगति हाल ६३ प्रतिशत पुगेको छ।
दोस्रो प्याकेजमा विद्युतगृह र त्यहाँ जडान गरिने उपकरणहरूको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सम्हालिरहेको छ। यसको कार्यप्रगति पनि ७९ प्रतिशत पुगेको देखिन्छ।




