कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने उक्त पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले क्षति पुर्याएको थियो।
नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै ठडिएको थियो तर तनहुँतर्फको काम सकिन बुधबार नै कुर्नु पर्यो। दुवैतर्फको पहुँच मार्ग ठिक भएलगत्तै बुधबारदेखि नै यस रुटमा यातायातका साधन गुड्न थालेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पुष्टि गरे।
सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत घिरिङतर्फको पहुँच सडकको मर्मत सकेको हो। यो मार्ग खुलेपछि घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनतर्फको आवतजावत सीधै जोडिएको छ जसले यात्रु र मालसामान ढुवानीमा प्रत्यक्ष राहत दिनेछ।
गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै अवस्थित यो फलामे पुल बनेको पनि करिब १२ वर्ष भइसकेको छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका नै अवरुद्ध हुँदा साताौँदेखि दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन बिचल्लीमा परेका थिए। अध्यक्ष थापाका अनुसार दसैँको मुखमा पुल पुनः सञ्चालनमा आउनुले यस क्षेत्रका सर्वसाधारणलाई ठूलो सास्तीबाट जोगाएको छ।





