कात्तिक ५ गतेदेखि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका निकायका वेबसाइट तथा अनलाइन सेवाहरू बन्द भएका थिए।

पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमलाई न्यूनीकरण गर्न यी सेवाहरू अस्थायी रूपमा बन्द गरिएको थियो।

आइतबार सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जारी गरेको सूचनामा सुरक्षा प्याच लगाइएको र आवश्यक प्राविधिक परीक्षण पूरा भएपछि लगभग एक हजार सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सामान्य सञ्चालनमा फर्किएको जानकारी दिइएको छ।

बाँकी रहेका सेवाहरू पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको केन्द्रको भनाइमा उल्लेख छ।

सुरक्षित वातावरणमा सेवा पुनर्स्थापनाको प्रक्रिया जारी रहेको भएकाले प्राविधिक टोली अझै निरन्तर काममा खटिएको सूचनामा उल्लेख छ।