अविरल वर्षाका कारण खसेको पहिरो, बाढीले गरेको सडक कटान र डाइभर्सन बगाउँदा पृथ्वी राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध भएको छ। यसलाई पुनः सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास भइरहेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसे र वडा नम्बर ५ को बाङ्गेमोडमा खसेको पहिरो हटाउने कार्य जारी छ। ठूलो परिमाणको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने उनले बताए।
प्रवक्ता सुवेदीले पृथ्वी राजमार्गकै कृष्णभिरमा खसेको पहिरो हटाइसकेपछि एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए। यद्यपि, चालिसे र बाङ्गेमोडमा पूर्णरूपमा पहिरो हटाइसकिएको छैन, जसले गर्दा तत्काल नियमित सवारी आवागमन सम्भव नभएको उनको भनाइ छ। पहिरो हटाउने कार्य भइरहँदा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेको र त्यसले सवारी सञ्चालनमा थप समस्या ल्याउन सक्ने ट्राफिक प्रहरीले औंल्याएको छ।
यसैबीच, अविरल वर्षाकै कारण काठमाडौं उपत्यकालाई मुलुकका अन्य भागसँग जोड्ने पृथ्वी, बिपी र कान्तिलगायत सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णतः अवरुद्ध भएको छ। विभिन्न स्थानमा खसेका पहिरो र बाढीका कारण सडक रोकिएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
कान्तिलोकपथको ठिङ्गन र फर्पिङ–फाखेल खण्डमा पनि पहिरो हटाउने कार्य जारी छ। ट्राफिक प्रहरीका अनुसार, वर्षाका कारण बिपी राजमार्गमा पनि सवारी आवागमनमा गम्भीर असर परेको छ। माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडा लगायतका बिपी राजमार्गका स्थानमा पहिरो र बाढीले डाइभर्सन बगाइदिएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको हो।
बाढी र पहिरोले विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। पहाडी क्षेत्रमा वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेको भन्दै प्रहरीले अनावश्यक यात्रा नगर्नसमेत अनुरोध गरेको छ।
अर्कोतर्फ, काठमाडौंको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन र टाटा सुमोजस्ता गाडी सञ्चालनमा रहेको प्रवक्ता सुवेदीले जानकारी दिए। ठूला सवारीसाधनका लागि भने त्रिभुवन राजपथ हुँदै यात्रा गर्ने व्यवस्था मिलाइएको छ। दक्षिणकाली–सिस्नेरी सडकखण्ड र त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिकाअनुसार आलोपालो प्रणालीमा सञ्चालन गरिएको छ। सडकको अवस्था, सवारी चाप र मौसमलाई मध्यनजर गर्दै यो व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्ग प्रभावित भएपछि यात्रुहरू समस्यामा परेका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बिपी राजमार्गमा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, अवरुद्ध सडक जबर्जस्ती पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी वा सम्बन्धित निकायले दिएको जानकारीअनुसार मात्र यात्रा गर्न पुनः आग्रह गरेको छ।





