पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा अठार दिनदेखि अवरुद्ध यातायात सेवा आज बिहानबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ १४ गतेको बाढीले सडक बगाएपछि यो खण्डमा आवागमन ठप्प बनेको थियो।

बाढीले सडकको तल्लो भाग पूरै बगाएर भासिएपछि अवरुद्ध बनेको कृष्णभीरमा नयाँ ट्रयाक खोलेर दुईतर्फी सवारी चलाइएको हो। सडक पूर्ण अवरुद्ध भएलगत्तै भदौ १८ गतेदेखि नै नजिकैको ढिस्को काटेर नयाँ ट्रयाक खोल्ने काम थालिएको थियो।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार, बुधबार साँझसम्म सबै काम सकिएपछि आजदेखि सडक सञ्चालनमा आएको हो। नदी कटानका कारण करिब १०० मिटर सडकमा क्षति पुगेको थियो। पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनःस्थापनाको काम छोटो समयमै सम्पन्न गरेको थियो।

अघिल्लो दुई दिनदेखि नै सडकमा रोकिएका सवारीसाधनलाई साँझको समयमा कटाइएको थियो। आजबाट भने नियमित आवागमन सुरु भएको छ।

कृष्णभीरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आवागमन पनि आजदेखि सुचारु भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरको अवरोध हटेपछि तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर भइरहेको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए।

लामो समयदेखि कृष्णभीरको सडक बन्द हुँदा ठूला सवारीसाधन संघीय राजधानी आउन जान पाएका थिएनन्। यसले राजधानीमा एलपी ग्यासको अभावसमेत निम्त्याएको थियो।

गत भदौ १० गते भोटेकोसी बाढीले त्रिशूलीमा पानीको सतह बढाएपछि भदौ १४ गते पुनः बाढी आउँदा कृष्णभीरसहित पृथ्वी राजमार्गका ९ वटा विभिन्न ठाउँमा सडक भासिएको थियो। अन्यत्र सहजै सञ्चालनमा आए पनि कृष्णभीरमा सडक पूरै भासिएकाले समस्या बढी देखिएको थियो। यो सडक हुँदै दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्।