नारायणगढ–मुग्लिन सडक खण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएपछि स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा कृष्णभीरमा सडक मर्मत कार्य चलिरहेका बेला तुइन खोला परियोजनाको माटो कटान कार्य पनि अघि बढाइने उल्लेख छ। कृष्णभीरको मर्मत नसकिएसम्म यो काम जारी रहनेछ।
तुइन खोलामा बेलाबेला खसिरहने पहिरोको माथिल्लो भागमा रहेको सम्भावित जोखिमयुक्त माटो पन्छाउने लगायतका काम गर्न सवारी आवागमन आंशिक रूपमा बन्द गर्न लागिएको हो। यसले भविष्यमा हुन सक्ने ठूला पहिरोको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।
सडक पूर्ण रूपमा बन्द नभई निश्चित समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिनेछ। सूचनाअनुसार, नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८:३० बजे, १०:३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १:३० बजे, ३:५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा खुल्नेछ। यी समयबाहेक अन्य बेला भने काम गर्नका लागि सवारी रोकिनेछ।




