पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोले पूर्णरूपमा अवरुद्ध सडकमा नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ र सडक सम्याउने काम सकिएपछि केही सवारीसाधनलाई परीक्षणका रूपमा आवतजावत गराइएको थियो। यो परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका लागि कामलाई तीव्रता दिइएको हो।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार, अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। आज ११औँ दिनमा आइपुग्दा निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको नेपालले जानकारी दिए। निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर खटिएका छन्। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्।

हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन बनाउने काम पनि सँगसँगै चलिरहेको छ। सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुनेछ। करिब ३०० मिटर लामो यो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ।

यो खण्ड अलिकति जोखिमपूर्ण रहेको स्वीकार्दै इन्जिनियर नेपालले थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुने विश्वास व्यक्त गरे। यता, नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए।

उनका अनुसार, आइतबार परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको थियो र अहिले नयाँ ट्र्याक पूर्णरूपमा बन्द छ। मिश्रले सर्वसाधारणलाई नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्न आग्रह गर्दै थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको स्पष्ट पारे।