१५ वर्षदेखि रुग्ण अवस्थामा रहेको कमला नदीको पुल निर्माण कार्य अब अन्तिम चरणमा आइपुगेको छ। मधेश प्रदेशको जीवनरेखा मानिने हुलाकी राजमार्गमा पर्ने यो पुल आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ।
पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अड्किएको यस आयोजनाका प्रमुख समस्याहरू पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि बाँकी कामले गति लिएको हो। ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी किचलोका कारण आयोजनाले अपेक्षित गति लिन सकेको थिएन।
पुलको दशौं नम्बरको भाँचिएको पिलर उठाउने काम सकिएको छ भने सब स्ट्रक्चरको ढलान कार्य पनि सम्पन्न भइसकेको छ। फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पनि पूरा भइसकेको मन्त्रालयले जनाएको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको, जुन आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सकिनेछ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाले बगाएर क्षति पुर्याएको छ। नदीमा पानीको बहाव कम भएपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फ भने पहुँच सडकमा माटो भर्ने काम पूरा भइसकेको छ। यसअघि नै पुलको लोड परीक्षणसमेत सफलतापूर्वक सम्पन्न भैसकेको छ।
यो पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले लिएको थियो। २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना फेरि रुग्ण अवस्थामा पुगेको थियो।
पुल निर्माणसँगै मन्त्रालयले कमला नदी नियन्त्रणको कामलाई पनि अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ। स्वीकृत डिजाइनअनुसार आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्। आगामी हप्ता प्राविधिक मूल्यांकन सकिएपछि आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ।




