नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गत पावर हाउसमा गभर्नर कन्ट्रोलको खराबीले पाँच दिनदेखि सम्पूर्ण क्षेत्रको विद्युत् आपूर्ति ठप्प पारेको छ।
युनिट–९ मा आएको यो समस्या भदौ १६ गतेदेखि सुरु भयो। हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनामा स्थानीय प्राविधिक जनशक्तिले तत्काल समाधान गर्न नसकेकाले अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाइएको छ।
हुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक, वित्तीय संस्था र सञ्चारमाध्यम सबै विद्युत्बिना अलमल परेका छन्। मोबाइल चार्जिङदेखि इन्टरनेट र विद्युतीय उपकरणको सञ्चालन सबै प्रभावित भएको स्थानीयहरूले बताएका छन्।
दैनिक जीवन लकेर यो संकट बढ्दै गएको छ। तत्काल वैकल्पिक व्यवस्था र दीर्घकालीन समाधान दुवै आवश्यक भएको स्थानीयको दोहोरो माग छ।
पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गरेका छन्। उनीअनुसार पावर हाउसको समस्या समाधान हुनुअघी हुम्लास्थित डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याउन र विद्युत् उत्पादन सुचारु गर्न सरकारले कदम चाल्नुपर्छ।
विद्युत् सेवा सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन पनि तत्काल आवश्यक छ भन्ने शाहीको आग्रह छ। उनले दुर्गम हिमाली इलाकामा बस्ने नागरिकलाई पनि अन्य क्षेत्रका नागरिकसरह आधारभूत सेवा पाउने अधिकार रहेको जोड दिएका छन्। 'हुम्ली जनता पनि यही राज्यका नागरिक हुन्। हुम्लाका नागरिकलाई पनि उज्यालोमा बस्ने समान अधिकार छ,' शाहीले भने, 'राज्यले हिमाली दुर्गम भूगोलमा बसोबास गर्ने नागरिकलाई आधारभूत सेवा सुविधाबाट वञ्चित गरिरहन मिल्दैन।'




