भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खुल्ने भएपछि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, बाँधमा जम्मा भएको सिल्ट सफाइ गर्न असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म ढोका खुला गरिनेछ। यस अवधिमा महाकाली नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले महाकाली नदी किनारमा बसोबास गर्ने नागरिक तथा नदीमा आवतजावत गर्ने सबैलाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी, बाँधका ढोका खुला रहने अवधिभर नदीमा प्रवेश नगर्न, किनारमा नबस्न र सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ।

बाँधका ढोका बन्द भएपछि पनि केही समयसम्म महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहन्छ। यसकारण, तटीय क्षेत्रका बासिन्दालाई थप सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।