रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ। पाँच दिनअघि सुरु गरिएको यो काम सेनाको टोलीले निरन्तर खटेर छोटो समयमै सम्पन्न गरेको हो।

नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। पर्सिदेखि भने सवारीसाधनसमेत सञ्चालनमा आउनेछन्।

भोटेकोशीको बाढीले देवीघाटको पक्की पुल बगाइदिएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क टुटेको थियो। वैकल्पिक पुल बनेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।