काभ्रेपलाञ्चोकमा बिपी राजमार्गको खण्डमा राति सवारीसाधन आवागमनमा रोक लगाइएको छ। भारी वर्षासँगै बाढीपहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले चार दिन रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गतेसम्म बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म राजमार्गको काभ्रे खण्डमा सवारी चलाउन नदिने निर्णय गरेको हो।

यसको मुख्य कारण असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म ठूलो वर्षा हुने मौसम पूर्वानुमान रहेको अधिकारीले स्पष्ट पारे। सोही पूर्वानुमानलाई आधार मानेर बाढीपहिरोको जोखिम घटाउन रातिको समयमा यातायात रोक्ने निर्णय लिइएको हो। दिनको समयमा भने वर्षा तथा बाढीको अवस्था हेरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक परे सवारी सञ्चालन रोक्न सक्ने व्यवस्था मिलाइएको छ।

यस निर्णयलाई कार्यान्वयनमा सहज बनाउन सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि अनुरोध गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए।

बैठकले नदी किनार र पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित विपद्बारे निरन्तर जानकारी दिन तथा स्थानीय सञ्चारमाध्यमबाट पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई सहजीकरणका लागि आग्रह गर्ने निर्णय गरेको छ।

उद्धार कार्यका लागि नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टरलाई विभिन्न स्थानमा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय र सम्पर्कमा रही उद्धार व्यवस्थापनलाई चुस्त बनाउने निर्णय पनि बैठकले गरेको छ। प्रशासनले जोखिममा रहेका नागरिकहरूलाई पूर्वसूचनाप्रति सचेत रहन र आवश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।