काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई अब २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषद्बीच आज सहकार्य गर्ने सहमति जुटेको छ। परिषद्को नवनिर्वाचित टोलीले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई पारिवारिक वातावरणमा सुरक्षित र मर्यादित रूपमा चलाउने विषयमा दुवै पक्ष सहमत भएका हुन्।
परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिएअनुसार, पर्यटकीय केन्द्र ठमेललाई चौबीसै घण्टा चलायमान गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय र परिषद्बीच सहकार्यको समझदारी बनेको छ। भेटका क्रममा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भएको थियो।
प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग समन्वय गर्दै आएको बताए।
स्मरण रहोस्, २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए। परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने जनाएको छ।





