बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटन प्रवर्द्धनका लागि 'ब्रान्डिङ' गरेर व्यापक प्रचारप्रसार गरिने भएको छ। यसका लागि नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरिने बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिएका छन्।
मङ्गलबार कोहलपुरमा बसेको सरोकारवाला निकायको समन्वयात्मक बैठकले निकुञ्जको प्रचारप्रसारका लागि डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राख्ने निर्णय गरेको छ। यसका साथै, कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना र अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने सहमति पनि जुटेको छ।
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुञ्जमा आवश्यक पूर्वाधार निर्माण भइसकेको र सफारीका लागि तयारी अवस्थामा रहेको कँडेलले बताए। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निकुञ्जमा सफारी गर्ने पर्यटकको सङ्ख्या तेब्बरले बढेको उनको भनाइ छ। निकुञ्जभित्र पर्याप्त घाँसेमैदान, कृत्रिम ताल, मचान र वनपथ निर्माण गरिएको छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुञ्जको संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा आफू सधैँ सकारात्मक रहेको बताए। नगरप्रमुख आचार्यले निकुञ्ज कार्यालयसँग सहकार्य गरेर सचेतनामूलक कामहरू गरिएको र नगरपालिकासँगै जोडिएको निकुञ्जको पर्यटन प्रवर्द्धनमा आफूहरू जहिले पनि साथमा रहने स्पष्ट पारे।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि निकुञ्ज कार्यालय, जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घसंस्थाहरू सक्रिय छन्। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्यटकको पर्खाइमा छ।
निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार पारिएको छ। निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्नका लागि होमस्टे र राप्ती नदीमा जलविहारलगायतका व्यवस्था छन्। निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगन्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउमा होमस्टे सञ्चालन गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए।





