पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि रु.१५ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने भएको छ। यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५,००,००० कित्ता साधारण शेयर जारी गर्नेछ, जसको कुल मूल्य रु.१५,००,००,००० हुन आउँछ।

निष्कासन सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्। यो अवसरमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको उपस्थिति रहेको थियो।

नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासको लक्ष्य राखेको पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले ‘सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारा लिएको छ। कम्पनीले ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार, र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रका परियोजनाहरूमा रणनीतिक रूपमा लगानी केन्द्रित गर्दै आएको छ।