कात्तिक ११ गतेसम्ममा सेबोनले ११७ कम्पनीबाट आईपीओ स्वीकृतिका लागि ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आवेदन प्राप्त गरिसकेको छ। यी कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता शेयर निष्काशनको योजना बनाएका छन्।

सेबोनले आवेदनहरूलाई प्रक्रियाको अवस्था अनुसार छ चरणमा विभाजन गरेको छ। अहिले आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स अन्तिम चरणमा छन्। दुवै कम्पनीले गरी २९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न चाहेका छन्—आशुतोषले १२ लाख, कान्तिपुरले १७ लाख कित्ता शेयर जारी गर्न खोजेका छन्।

तर अन्तिम समीक्षामा पुगेतापनि स्वीकृति स्वतः मानिने होइन। सम्बन्धित निकायले आवश्यक कागजात र नियामकीय मापदण्ड पूरा भएको पुष्टि गरेपछि मात्रै निर्णय हुनेछ।

पाँचौँ चरणमा १० कम्पनीका ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता शेयरको प्रस्ताव समीक्षाधीन छ। सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी पावर र एनसी एग्रोटेक इन्डस्ट्रिजलगायतका कम्पनी यस सूचीमा छन्।

चौथो चरणमा १९ कम्पनी छन्, जसले गरी ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता शेयर जारी गर्न आवेदन गरेका छन्। डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, ह्यास हस्पिटल र सौर्य सिमेन्ट यी कम्पनीहरूमा पर्छन्।

तेस्रो चरणमा महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्टलाई कैफियत पठाइएको छ। यी कम्पनीले दिएका विवरणलाई थप स्पष्टीकरणका लागि फर्काइएको हो।

पहिलो चरणमा ७६ कम्पनीका आवेदन दर्ता भएको छ भने दोस्रोमा ६ कम्पनीको प्रारम्भिक समीक्षा भइरहेको छ। मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्ट पहिलो चरणमा छन्। आकामा होटल र अपेक्स मकालु हाइड्रोपावर जस्ता कम्पनी दोस्रो चरणमा पुगेका छन्। प्रारम्भिक चरणमा रहेका कम्पनीहरूको संख्या गरेर कुल ८२ छ।

सेबोनका अनुसार, आवेदनलाई वित्तीय स्थिरता, विवरणपत्रको पारदर्शिता, प्रतिशेयर नेटवर्थ र कानूनी प्रावधानको आधारमा मूल्यांकन गरी प्रत्येक चरणमा अगाडि बढाइन्छ। प्रक्रिया पूरा भएपछि मात्रै आईपीओको अन्तिम स्वीकृति दिइन्छ।