बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी सुरु गरेको छ। यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्दै दुईपक्षीय सम्झौता गरेको हो।
सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले बिराट एग्रीलाई सार्वजनिक शेयर निष्कासनका लागि आवश्यक पर्ने संस्थागत परामर्श सेवा उपलब्ध गराउनेछ। कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्नेदेखि प्रचलित कानुनबमोजिम आईपीओ निष्कासनको तयारी र सम्पूर्ण प्रक्रियामा क्यापिटलले परामर्श तथा सहजीकरणको भूमिका निर्वाह गर्नेछ।
इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको बिराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रमा केन्द्रित कम्पनी हो। कम्पनीले मोरङ र सुनसरी जिल्लामा फैलिएका १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ।
त्यसैगरी, इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको आधुनिक फिस फिड प्लान्ट कम्पनीले सञ्चालनमा ल्याएको छ। यस प्लान्टबाट तैरिने र डुब्ने दुवै प्रकारका माछाका दाना उत्पादन भई आफ्नै परियोजनाहरूमा खपत हुनुका साथै बजारमा समेत बिक्री–वितरण भइरहेको छ।
आईपीओबाट संकलित पूँजीलाई कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि भित्र्याउने र व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ। कृषि तथा मत्स्यपालन क्षेत्रको उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्ने दीर्घकालीन रणनीति कम्पनीले अघि सारेको छ।
यस योजनाअन्तर्गत पाङ्गास माछाको प्रशोधन तथा फिलेट उत्पादनका लागि आधुनिक प्रविधियुक्त फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने लक्ष्य राखिएको छ। उक्त प्लान्टबाट पाङ्गास माछाको फिलेटसहित मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादन तयार गरी प्याकेजिङ तथा बजारीकरण गरिनेछ।
हाल सञ्चालनमा रहेको फिस फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको अर्को आधुनिक फिड प्लान्ट स्थापना गर्ने योजना पनि कम्पनीले अघि बढाएको छ।
यी सबै पूर्वाधार निर्माणसँगै उत्पादन, प्रशोधन, प्याकेजिङ, भण्डारण र बजारीकरणलाई एउटै व्यावसायिक प्रणालीमा जोड्ने कम्पनीको योजना छ। आफ्नै फार्ममा माछा उत्पादन, दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एकीकृत गर्दै कृषि तथा एक्वाकल्चर क्षेत्रमा 'फार्मदेखि बजारसम्म'को व्यावसायिक चक्र विकास गर्ने लक्ष्य बिराट एग्रीले लिएको छ।
कम्पनीले यस विस्तार योजनामार्फत कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।





