भदौ २२ गतेदेखि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन तथा बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा यो प्रक्रिया अघि बढाएको हो।
कम्पनीले आफ्नो कुल जारी पुँजी १ अर्ब ४ करोड रुपियाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपियाँ बराबरका २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नियामकबाट अनुमति प्राप्त गरेको थियो।

सोही अनुमतिअनुसार, कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख ४ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ। कर्मचारीका लागि छुट्याइएको २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषहरूका लागि तोकिएको ५२ हजार कित्ता शेयरको बाँडफाँट पनि सम्पन्न भैसकेको कम्पनीले जनाएको छ।
अब कम्पनीले सर्वसाधारणका लागि बाँकी ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर निष्काशन गर्दैछ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। आवेदन भदौ २५ गतेभित्र दिनुपर्नेछ। यदि तोकिएको समयसीमाभित्र मागअनुसार आवेदन प्राप्त नभएमा निष्काशन अवधि असोज ५ गतेसम्म लम्ब्याउन सकिनेछ।




