सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ISO/IEC 27001:2022 को प्रमाणीकरण नवीकरण गरेको छ। यससँगै बीमित, ग्राहक र अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा तथा सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता थप सुदृढ भएको संस्थाले जनाएको छ।

ISO/IEC 27001:2022 लाई सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय मानक मानिन्छ। यसले कुनै पनि संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान र मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपायहरू लागू गर्न, र तिनको प्रभावकारितालाई नियमित समीक्षा तथा सुधार गर्न एक व्यवस्थित आधार प्रदान गर्छ।

यो मानकले सूचना सुरक्षाका तीन प्रमुख आधारलाई प्राथमिकतामा राखेको छ: गोपनीयता, अखण्डता र उपलब्धता।

  • गोपनीयता: यसअन्तर्गत ग्राहकको व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील सूचनामा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गर्ने व्यवस्था हुन्छ।
  • अखण्डता: सूचना सही, पूर्ण र विश्वसनीय रहेकाले अनधिकृत परिवर्तनबाट सुरक्षित हुने विषयलाई यसले समेट्छ।
  • उपलब्धता: आवश्यक परेको बखत अधिकारप्राप्त प्रयोगकर्ताका लागि सूचना तथा सम्बन्धित प्रणाली उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य हो।

जीवन बीमा सेवामा ग्राहकको व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी र दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेषगरी, डिजिटल सेवाको विस्तारसँगै यस्ता सूचनाको सुरक्षा ग्राहकको विश्वास र सेवाको विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको हुन्छ। त्यसैले, ISO/IEC 27001:2022 को प्रमाणीकरण नवीकरणलाई कम्पनीले सूचना सुरक्षा व्यवस्थापनलाई निरन्तर सुदृढ बनाउने प्रक्रियाको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

सन नेपाल लाइफले सूचना सुरक्षालाई संस्थागत जिम्मेवारीका साथै ग्राहकप्रतिको प्रतिबद्धताको अभिन्न अङ्गका रूपमा हेरेको बताएको छ। आगामी दिनमा सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारी सचेतना, र प्रणाली तथा प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।