प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरेको छ। यसअघि कम्पनीले यी सेयर आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूलाई बिक्रीको अवसर दिएको थियो, तर त्यसमा आवेदन नपरेपछि अहिले सर्वसाधारणले खरिद गर्न पाउने भएका हुन्।

कम्पनीले गत वैशाख १५ गते एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरूलाई ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको थियो।

तोकिएको समयसीमाभित्र कुनै पनि संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएन।

यसपछि कम्पनी व्यवस्थापन अब ती ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णयमा पुगेको हो।

इच्छुक सर्वसाधारण लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन्। आवश्यक कागजातसहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्नेछ।