सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हालै ललितपुरको पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ। देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई क्लब योजनामा सफलता हासिल गर्न सफल बीमा सल्लाहकारहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले यो समारोह आयोजना गरिएको थियो।

कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज के.सी. सहित प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको गरिमामय उपस्थिति थियो।

अध्यक्ष केडियाले देशका विभिन्न स्थानबाट कम्पनीको निमन्त्रणा स्वीकार गरी पाल्नुभएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूलाई न्यानो अभिवादन टक्र्याए। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सप्रति उनीहरूले देखाएको अगाध विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पुर्याएको अतुलनीय योगदानप्रति उनले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरूप्रति आभार प्रकट गर्दै बीमा सल्लाहकारहरूलाई कम्पनीको मेरुदण्डका रूपमा चित्रण गरे। भविष्यमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याउने प्रतिबद्धता उनले जनाए।

यसैगरी, डेपुटी सीईओ निराजन कंडेलले जीवन बीमामा टिमको महत्वमाथि प्रकाश पारे। टिममा बसेर काम र सहकार्य गर्दा सफलता उन्मुख भइने कुरा उनले प्रस्तुत गरे।

आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीले अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब, ग्यालेक्सी र कसमस क्लब जस्ता योजनाहरू ल्याएको थियो। यी क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ। तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरूले क्लबको सदस्यता प्राप्त गरी यस कार्यक्रममा सहभागी हुने अवसर पाएका थिए।

कार्यक्रममा सबै क्लब सहभागीहरूका साथै देशभरबाट वैयक्तिक कोड र टीम व्यवसाय अन्तर्गत उत्कृष्ट ३ मा पर्न सफल बीमा अभिकर्ताहरूलाई कम्पनीले सम्मान प्रदान गर्यो।

मनोरञ्जनका लागि चर्चित गायक/गायिका महेश काफ्ले र अस्मिता अधिकारी तथा हास्य कलाकारहरू मिस पबी र सुन्दर खनालले आफ्ना प्रस्तुतिहरू पस्कँदै कार्यक्रममा रौनक थपेका थिए। बीच-बीचमा नृत्य कार्यक्रम पनि समावेश गरी माहोललाई थप रमाइलो बनाइएको थियो।

अन्तर्राष्ट्रिय र राष्ट्रिय अवार्डहरू प्राप्त गर्न सफल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।

हाल इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २७ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा सक्रिय रुपमा कार्यरत रहेका छन्।