गत आर्थिक बर्ष २०८२–८३ मा निर्जीवन बीमा कम्पनीहरूको नाफा ३८.४९ प्रतिशतले घटेको छ । नेपालमा हाल १४ निर्जीवन बीमा कम्पनीहरू छन्। उनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यो अवस्था देखाएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूको खुद नाफा चार अर्ब ४३ करोड ६९ लाख १४ हजार रूपियाँ थियो। गत आर्थिक वर्षमा भने दुई अर्ब ७२ करोड ९० लाख ३९ हजार रूपियाँ मात्रै खुद नाफा कमाएका छन्।
बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदरमा आएको गिरावट र जेनजी आन्दोलनका कारण आएको उच्च बीमा दावीले निर्जीवन बीमा कम्पनीहरूको नाफा घटेको हो । बीमा कम्पनीहरूको आम्दानीको मुख्य स्रोत मुद्दती निक्षेपको ब्याज आम्दानी हो। तर, पछिल्लो समय बैंकहरुले ब्याजदर घटाउँदै लगेपछि त्यस्तो आम्दानी प्रभावित भएको छ ।
यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरूमा २३ अर्ब ३८ करोड रूपियाँ बराबरको दावी परेको थियो। त्यसमा कम्पनीहरूले दावी भुक्तानी दिइरहेका छन्। बाँकी रहेको भुक्तानीका लागि पनि आवश्यक रकम प्रोभिजन गरेर राखेका छन्। त्यसले पनि नाफा प्रभावित भएको छ।
तथ्यांक अनुसार भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स भने १३ करोड १० लाख ७५ हजार रूपियाँले नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा पनि यो कम्पनी १५ करोड सात लाख ४० हजार रूपियाँले नोक्सानीमा रहेको तथ्यांकमा उल्लेख छ। अन्य १३ कम्पनी नाफामा भएपनि अधिकांशको घटेको छ । यो अवस्थामा कम्पनीको नाफा बढाउनु भन्दा घाटामा जान नदिनु पनि ठूलो सफलता भएको कम्पनीहरू बताउँछन् ।
समीक्षा वर्षमा भारतीय स्वामित्वकै दि ओरियन्टल इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख ४७ हजार रूपियाँले घाटामा रहेको उक्त कम्पनीले गत आर्थिक वर्षमा भने ४९ करोड चार लाख ५३ हजार रूपियाँ नाफामा गएको छ। अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको कम्पनी यसपालि सबैभन्दा धेरै नाफा कमाउन सफल भएको हो।
दोस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी छ। उक्त कम्पनीले ३४ करोड ४४ लाख ३७ हजार नाफा कमाएको छ। तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख ८५ हजार रूपियाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ।
यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ७८ लाख ५२ हजार रूपियाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३१ करोड ३० लाख ९६ हजार रूपियाँ र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख २१ हजार रूपियाँ खुद नाफा कमाएको छ।
यसैगरी प्रभु इन्स्योरेन्सले २४ करोड ७४ लाख ४३ हजार रूपियाँ, शिखर इन्स्योरेन्सले १३ करोड ८९ हजार रूपियाँ, सानिमा जीआईसीले १३ करोड ३९ हजार रूपियाँ र नेपाल इन्स्योरेन्सले १२ करोड ७५ लाख ५० हजार रूपियाँ खुद नाफा कमाएको छ।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले ६ करोड ३० लाख ९९ हजार रूपियाँ, एनएलजी इन्स्योरेन्सले पाँच करोड ७८ लाख १२ हजार रूपियाँ र आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्सले ४० लाख ३८ हजार रूपियाँ खुद नाफा कमाएको छ।





