हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ मा ३३ करोड ७८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३६.५३ प्रतिशतले कम हो। आव २०८१–८२ मा कम्पनीले ५३ करोड २३ लाख रुपियाँ नाफा कमाएको थियो।
यद्यपि, नाफामा कमी आए पनि समग्र निर्जीवन बीमा व्यवसायमा कम्पनीको प्रदर्शन उत्साहजनक मानिएको छ। समीक्षा अवधिमा कम्पनीले चार अर्ब ८४ करोड ६२ लाख रुपियाँ कूल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको चार अर्ब नौ करोड ५२ लाख रुपियाँको तुलनामा १८.३४ प्रतिशतले बढी हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ९.७४ प्रतिशतले बढेर दुई अर्ब २१ करोड ७९ लाख रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी दुई अर्ब दुई करोड १० लाख रुपियाँ थियो।
समीक्षा अवधिमा हिमालयन एभरेष्टको बीमा कोष १६.१० प्रतिशतले वृद्धि भई चार अर्ब ४७ करोड ५७ लाख रुपियाँ पुगेको छ। अघिल्लो वर्षको अन्त्यमा यो कोष तीन अर्ब ८५ करोड ५१ लाख रुपियाँ थियो।
कम्पनीले तोकिएको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपियाँ कायम गरिसकेको छ। वित्तीय विवरणअनुसार, समीक्षा अवधिमा कम्पनीको ‘स्पेसल रिजर्भ’मा दुई अर्ब आठ करोड २१ लाख रुपियाँ, महाविपत्ति कोषमा नौ करोड ९० लाख रुपियाँ, रिटेन्ड अर्निङमा २७ करोड ४७ लाख रुपियाँ तथा अन्य इक्विटीमा ३९ करोड २६ लाख रुपियाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २१.२९ रुपियाँबाट घटेर समीक्षा अवधिमा १३.५१ रुपियाँ कायम भएको छ। यद्यपि, प्रतिसेयर नेटवर्थ २१३.९४ रुपियाँ रहेको छ।
करिब पाँच अर्ब रुपियाँ प्रिमियम आर्जन गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई मर्जरपछि सबैभन्दा सफल निर्जीवन बीमा कम्पनीका रूपमा लिइन्छ। ठूला कर्पोरेट व्यवसायमा केन्द्रित हिमालयन जनरल इन्स्योरेन्स र खुद्रा व्यवसायमा केन्द्रित एभरेष्ट इन्स्योरेन्सको मर्जरले दुवैको अनुभवबाट नयाँ सिनर्जीका साथ कम्पनीलाई अघि बढाएको छ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले मर्जरपछिको केही समय असहज भए पनि अहिले कम्पनी सहज र नयाँ ऊर्जाका साथ अघि बढेको बताइन्। उनले कम्पनीलाई अझ उत्तरदायी, नवप्रवर्तनमुखी तथा ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्दै दिगो व्यावसायिक वृद्धिको प्रयासमा रहेको जानकारी दिइन्। श्रेष्ठका अनुसार, कम्पनी नयाँ क्षेत्रमा व्यवसाय विस्तारको प्रयासमा पनि छ। उनले बजारमा आधिकारिकता पुष्टि नगरी गरिने अनर्गल हल्लाले सुरुवाती समयमा केही असहज भए पनि अब त्यसलाई चिर्नेगरी काम गर्ने आत्मबल बढेको उल्लेख गरिन्।





