भदौ १८ गतेको बैठकमा नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्य पुनः तोकेको छ। उत्पादक किसानको राय र सिफारिसका आधारमा यो निर्धारण भएको संघले जनाएको छ।

शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँमा पुग्यो। ठूलो अन्डा ५९० रुपैयाँ र मिडियम अन्डा ५५० रुपैयाँ कायम गरिएको छ। सानो अन्डा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत रहेको छ।

भदौ ४ गते तोकिएको मूल्यसँग तुलना गर्दा सानो अन्डामा कुनै परिवर्तन आएको छैन। एक्सएल, ठूलो र मिडियम गरी तीन वर्गमा प्रत्येकमा १५ रुपैयाँको वृद्धि भयो। एक्सएल अन्डा ५९० रुपैयाँबाट १५ रुपैयाँले बढेर ६०५ रुपैयाँ पुग्यो। ठूलो अन्डामा पनि एक प्रतिक्रेट १५ रुपैयाँले बढेर ५९० रुपैयाँ तोकिएको छ। मिडियम अन्डाको मूल्य ५३५ रुपैयाँबाट ५५० रुपैयाँ भएको छ।

संघले उत्पादक, संकलनकर्ता, थोक र खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। उपभोक्ता स्तरमा ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ निर्धारण गरिएको छ।