भोटेकोशीमा आएको बाढीले रसुवागढी–केरुङ नाका ठप्प पारेपछि मुस्ताङस्थित कोरला भन्सार कार्यालयको राजस्व सङ्कलनमा अप्रत्याशित उछाल आएको छ। भन्सार कार्यालयले दिएको जानकारीअनुसार, भदौ १० देखि २३ गतेसम्मको छोटो अवधिमै रु ५६ करोडभन्दा बढी राजस्व उठेको छ।

रसुवा र तातोपानी दुवै प्रमुख नाका एकैसाथ बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयले मात्रै वैकल्पिक मार्गको भूमिका निर्वाह गरिरहेको छ। यसै क्रममा कोरला नाकाबाट नेपाल भित्रिएका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले बताए।

दैनिक औसतमा १५ वटासम्म विद्युतीय सवारी र १० वटाभन्दा बढी मालवस्तु बोकेका कन्टेनर कोरला नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन्। भन्सार प्रमुख चुडालका अनुसार, चालू आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्मको अवधिमा १६३ वटा विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेका कन्टेनरको भन्सार जाँचपास भइसकेको थियो।

यसअघि, ४० दिनको अवधिमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो। हालसम्म यस भन्सार कार्यालयले कुल रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन गरिसकेको छ। स्मरण रहोस्, आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो।