संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने तयारी छ।
यीमध्ये अर्थ समितिको बैठक बिहान १० बजेका लागि तय भएको छ। यस बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सुरु हुनेछ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि केन्द्रित हुने यस छलफलका लागि शिक्षामन्त्री र मन्त्रालयका सचिवलगायतलाई आमन्त्रण गरिएको छ। शिक्षामन्त्री अस्वस्थ भएपछि मंगलबारका लागि तय भएको बैठक स्थगित भएको थियो।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक भने बिहान सवा ११ बजे बस्नेछ। यस बैठकमा समितिका पूर्वसभापतिहरूसँग राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।




