नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्र सुधारमा स्वीस सरकारको सहयोग निरन्तर रहने भएको छ। सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री सस्मित पोखरेलसँगको शिष्टाचार भेटमा नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरले यस्तो प्रतिबद्धता जनाएका हुन्। यस भेटमा राजदूत मायरले टिभेट क्षेत्रको दिगो विकासका लागि उद्योग, तालिम प्रदायक र निजी क्षेत्रबीच प्रभावकारी सम्बन्ध हुनुपर्नेमा जोड दिए।
राजदूत मायरको भनाइमा सहमति जनाउँदै मन्त्री पोखरेलले टिभेट क्षेत्र सुधार सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे। उनका अनुसार, हाल टिभेट ऐन छलफलको क्रममा छ, जसले यस क्षेत्रको व्यवस्थापन र सुशासन सुदृढ पार्न मद्दत पुग्नेछ। मन्त्री पोखरेलले दक्ष जनशक्ति विकासमा समेत जोड दिइने योजना सुनाउँदै यसो गर्न स्वीस सरकारसँग थप सहकार्यका लागि सरकार इच्छुक रहेको धारणा व्यक्त गरे।


यसै क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको योगदानको प्रशंसा गर्दै आभार प्रकट गरे। दुई देशबीचको सम्बन्ध, शिक्षा क्षेत्रमा जारी सहकार्यका साथै भविष्यमा सहयोग विस्तार गर्न सकिने सम्भावित क्षेत्रहरूमा पनि छलफल भएको मन्त्रालयका अधिकारीहरूले जनाए।
प्रसंगवश, राजदूत मायरले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य धेरै मुलुकको भन्दा प्रभावकारी रहेको उल्लेख गरे। उपलब्ध तथ्यांकले पनि यस क्षेत्रमा थप सुधारको आधार देखाएकाले भविष्य उज्ज्वल रहेको उनको विश्वास थियो।




