यातायात व्यवस्था विभागले करिब ४ महिनादेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता प्रक्रिया असोज १ गते (भोलि) देखि खुला गर्ने भएको छ।

विभागले उपत्यकाबाहिर भने विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकतामा राख्दै प्रोत्साहन गर्ने नीति लिएको छ। काठमाडौं उपत्यकाभित्र भने स्कुलबस तथा सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने विभागले स्पष्ट पारेको छ।

गत जेठ ७ गते एक सूचना जारी गर्दै विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरेको थियो। त्यसको करिब साढे दुई महिनापछि साउन १८ गते अर्को सूचनामार्फत सार्वजनिक मालवाहक सवारीसाधनको दर्ता खुला गरिएको थियो।