सार्वजनिक संस्थानका कर्मचारीले बढेको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता अब पाउने भएका छन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी यी सुविधा उपलब्ध गराउन विभिन्न सर्तसहित दिशानिर्देश गरेको हो।
अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन चारवटा सर्त पूरा गर्नुपर्नेछ। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयलाई आधार मान्दै साउन १ गतेदेखि लागू हुने नयाँ तलबमानअनुसार तह र पदअनुसारको नयाँ तलबमान निर्धारण गर्न सम्बद्ध निकायहरूलाई भनेको छ।
प्रोत्साहन भत्ता लिँदै आएका कर्मचारीका हकमा भने हाल पाइरहेको प्रोत्साहनभत्ताभन्दा नयाँ व्यवस्थाअनुसार कम हुने भएमा घटेको रकम बराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ। यसका साथै, कार्यसम्पादन सूचकका आधारमा दिइने प्रोत्साहनभत्ताको व्यवस्थालाई क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ।
हाल खाईपाई आएको ग्रेडभन्दा निजामती सेवातर्फ लागू भएको नयाँ ग्रेडदर कम भएमा मात्र सोही बराबर हुने गरी नयाँ ग्रेड निर्धारण गर्नुपर्नेछ।
अर्थ मन्त्रालयको पूर्वसहमतिबिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै पनि किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ। यस सन्दर्भमा विगतमा जारी भएका परिपत्रहरूलाई समेत ध्यानमा राख्न मन्त्रालयले स्मरण गराएको छ।





