आन्तरिक राजश्व विभागले करदाताका लागि नयाँ पोर्टल परीक्षणमा ल्याएको छ। भदौ ९ गतेदेखि सुरु भएको यो प्रणालीले करसम्बन्धी सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने विभागको दाबी छ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार, नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म पुरानो प्रणाली पनि यथावत् सञ्चालनमा रहनेछ। यो पोर्टल ‘डिजाइन ड्रिभन डेभलपमेण्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर विकास गरिएको हो।

नयाँ व्यवस्थाअनुसार, अन्तःशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण अब करदाता स्वयंले रुजु गर्न सक्नेछन्। यसअघि यस्तो रुजुका लागि आन्तरिक राजश्व कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। आय विवरण (डे–०४) अन्तर्गत साविकमा अनुसूची १० मा करदाताले भर्नुपर्ने विवरण अब स्वतः आउने व्यवस्था मिलाइएको छ।

स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्नेछ। विदेशी लगानीकर्ताहरूले स्थायी लेखा नम्बर दर्ताका लागि अनलाइनमार्फत निवेदन दिन सक्नेछन्। करदाताले आफ्नो स्थायी लेखा नम्बर कार्ड, अन्तःशुल्क इजाजत र करचुक्ता प्रमाणपत्र पोर्टलमा लग–इन गरी आफैँ डाउनलोड गर्न सक्ने सुविधा पनि थपिएको छ। मूल्य अभिवृद्धि कर विवरण संशोधन सम्बन्धी सेवा पनि पोर्टलमा समावेश गरिएको छ।

महानिर्देशक भुसालले स्पष्ट पारेअनुसार, करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैँले संशोधन गर्न पाउनेछन्। यसअघि एउटा शून्य बढी हुनुजस्ता सामान्य अंकगत त्रुटि सच्याउन पनि कर कार्यालय नै पुग्नुपर्ने झन्झट थियो।

विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी (ईटीडीएस) गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको छ। हालको कानुनअनुसार प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भएपनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको थियो।

विभागले यो पोर्टल परीक्षणका क्रममा रहेकाले केही समय सामान्य प्राविधिक समस्याहरू आउन सक्नेप्रति सचेत गराएको छ। महानिर्देशक डा. भुसालले करदाताको सुविधालाई ध्यानमा राख्दै पोर्टलको डिजाइनमा सरलता ल्याउने र आवश्यक थप सुविधाहरू पहिचान गरी छिट्टै व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।