आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सदनमा पेस गर्ने तयारी छ।
यसका साथै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। यी विधेयकहरूले वित्तीय क्षेत्रमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। यसैगरी, राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ। प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। संघीय संसद् सचिवालयका अनुसार, उक्त प्रस्तावमाथि सभामा छलफल भई पारित गर्ने कार्यसूची रहेको छ।




