हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई फरक क्षेत्रका कम्पनीहरूमा कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ। कम्पनीको २३५ औँ सञ्चालक समितिको बैठकले चिनी उद्योग र जलविद्युत् आयोजनामा संस्थापक सेयर खरिदमार्फत यो रकम खन्याउने निर्णय गरेको हो।
यसमध्ये, विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँसम्म लगानी हुनेछ। हाथवेले चिनी उद्योगतर्फको यो कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ।
त्यस्तै, ऊर्जा क्षेत्रमा भिजन टेस्ला पावर प्रा.लि. ले संखुवासभाको मकालु गाउँपालिकामा निर्माण गरिरहेको २४.९२१ मेगावाट क्षमताको ‘इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्ट’ (Induwa Khola PROR Hydropower Project) मा १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय भएको छ। यसका लागि कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ।
कम्पनीले आफ्नो लगानी विविधीकरण गर्ने र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नीतिअनुरूप यी क्षेत्रहरूमा लगानी विस्तार गरेको जनाएको छ।
कम्पनी सचिव सुधा अर्यालका अनुसार, यस लगानीसम्बन्धी निर्णयको औपचारिक जानकारी नेपाल स्टक एक्सचेन्ज (NEPSE), नेपाल धितोपत्र बोर्ड (SEBON) तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडजस्ता नियामक निकायहरूलाई गराइसकिएको छ।

