चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालले १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको छ। उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यी परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो।

स्वीकृत परियोजनामध्ये सबैभन्दा धेरै सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्रमा परेका छन्। कुल १९१ मध्ये १२८ वटा अर्थात् करिब ६७ प्रतिशत परियोजना आईसीटी क्षेत्रका हुन्, जसमा ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको प्रतिवेदनमा उल्लेख छ।

पर्यटन क्षेत्रमा ३३ वटा परियोजना स्वीकृत भएका छन्। यस क्षेत्रमा १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल परियोजनाको १७ प्रतिशत हिस्सा हो।

त्यसैगरी, सेवा क्षेत्रमा १९ वटा परियोजनाका लागि ६८ करोड २० लाख रुपैयाँ प्रतिबद्धता आएको छ। यो क्षेत्रले कुल परियोजनाको १० प्रतिशत हिस्सा ओगटेको छ।

उत्पादनमूलक क्षेत्रमा ९ वटा परियोजना स्वीकृत हुँदा ८४ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। ऊर्जा र कृषि तथा वनमा आधारित क्षेत्रमा भने एक–एक वटा परियोजना स्वीकृत भएका छन्, दुवैमा २–२ करोड रुपैयाँ लगानी प्रतिबद्धता रहेको छ।

यस अवधिमा खनिज तथा पूर्वाधार क्षेत्रमा भने कुनै पनि विदेशी लगानी परियोजना स्वीकृत नभएको प्रतिवेदनले देखाएको छ।

उद्योग विभागको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८३/८४ को साउन अवधि जुलाई १७ देखि अगस्ट १६, २०२६ सम्मको हो। यस अवधिमा विदेशी लगानीसँग सम्बन्धित अन्य वित्तीय गतिविधि पनि भएका छन्। साउनमा रोयल्टीतर्फ २४ करोड २१ लाख ९३ हजार ३८० रुपैयाँ ३६ पैसा तथा अमेरिकी डलरमा ६ लाख ३३ हजार ६६६ दशमलव ९७ बराबरको रकम उल्लेख गरिएको छ।