नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९१ जलविद्युत कम्पनीहरूको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएसँगै हाइड्रो क्षेत्रको नयाँ वित्तीय र्याङ्किङ पनि बाहिर आएको छ। पूँजी संरचना, जगेडा कोष, विद्युत बिक्री आम्दानी, खुद नाफा, EPS, नेटवर्थ, ROE र तरलतासहितका प्रमुख वित्तीय सूचकहरूको समग्र विश्लेषणमा साहस उर्जा लिमिटेड (SAHAS) पहिलो स्थानमा उक्लिएको छ। यसको विपरीत, त्रिशुली जलविद्युत कम्पनी (TVCL) सबैभन्दा कमजोर प्रदर्शन गर्दै ९१औँ अर्थात् अन्तिम स्थानमा पुगेको छ।
साहस उर्जाले वित्तीय सूचकहरूमा प्रभावशाली प्रदर्शन गर्दै हाइड्रो क्षेत्रको नेतृत्व गरेको छ। कम्पनीले २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी विद्युत बिक्री आम्दानी गर्दै १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको EPS २९.७२ रुपैयाँ, नेटवर्थ १८०.५८ रुपैयाँ र ROE १६.४६ प्रतिशत पुगेको छ, जसले यसलाई समग्र र्याङ्किङमा शीर्ष स्थान दिलाएको हो।
साहसपछि बुटवल पावर कम्पनी (BPCL) दोस्रो स्थानमा रहेको छ। बलियो जगेडा कोष, उच्च नेटवर्थ र राम्रो तरलता कम्पनीको मुख्य शक्ति बनेको छ। त्यसैगरी पिपल्स पावर, ग्रीनलाइफ हाइड्रोपावर, माण्डू हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल क्रमशः तेस्रोदेखि छैटौँ स्थानमा परेका छन्। यी कम्पनीहरूले पनि आम्दानी, नाफा र वित्तीय सूचकमा तुलनात्मक रूपमा सन्तुलित प्रदर्शन गरेका छन्।

यद्यपि, रिपोर्टले केही कम्पनीको अवस्था भने निकै चिन्ताजनक देखाएको छ। त्रिशुली जलविद्युत कम्पनीको विद्युत बिक्री आम्दानी अत्यन्त न्यून रहँदा कम्पनीले १३ करोड १६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीको जगेडा कोष ऋणात्मक बनेको छ भने EPS र नेटवर्थ पनि कमजोर अवस्थामा पुगेका छन्। यही कारण कम्पनी समग्र र्याङ्किङको अन्तिम स्थानमा पुगेको हो।
रसुवागढी हाइड्रोपावर पनि कमजोर प्रदर्शन गर्ने कम्पनीमध्ये अगाडि देखिएको छ। भारी वित्तीय खर्चका कारण कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ। त्यसैगरी मोदी इनर्जी, शिवश्री हाइड्रोपावर, एसियन हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावर पनि र्याङ्किङको पुछारतर्फ रहेका कम्पनी हुन्, जहाँ नोक्सानी, ऋणात्मक EPS र कमजोर नेटवर्थले दबाब बढाएको छ।
अर्कोतर्फ, खुद नाफाका आधारमा माथिल्लो तामाकोशी, अपि पावर र माउन्टेन इनर्जी नेपाल पनि उत्कृष्ट कमाउने कम्पनीको सूचीमा परेका छन्। विद्युत बिक्री आम्दानीमा भने माथिल्लो तामाकोशी सबैभन्दा अगाडि रहेको छ, जबकि प्रति शेयर आम्दानी (EPS) मा साहस उर्जाले पहिलो स्थान कायम राखेको छ।
चौथो त्रैमासिक रिपोर्टले हाइड्रो क्षेत्रभित्र कम्पनीहरूको वित्तीय अवस्था निकै फरक–फरक रहेको देखाएको छ। केही कम्पनीले बलियो नाफा, राम्रो ROE र स्वस्थ नेटवर्थ कायम राख्दा केही कम्पनी भने अझै नोक्सानी, कमजोर जगेडा कोष र ऋणात्मक वित्तीय सूचकसँग संघर्ष गरिरहेका छन्। त्यसैले लगानीकर्ताका लागि अब र्याङ्किङभन्दा पनि कम्पनीको वास्तविक वित्तीय क्षमता, नाफा, EPS र नेटवर्थ मूल्यांकन गर्ने आधार बन्ने देखिएको छ।




