राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको १:०.२५१४ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगले स्वीकृति दिएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो।

यो स्वीकृतिसँगै कम्पनीले ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्कासन गर्न सक्नेछ, जसको कुल मूल्य करिब ३० करोड ८१ लाख २६ हजार रुपैयाँ पुग्नेछ।

स्मरण रहोस्, कम्पनीको २०८२ पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले भने १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ चुक्ता पुँजीका आधारमा १:०.४६६१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले विद्युत नियमन आयोगमा पूर्वस्वीकृतिका लागि निवेदन दिएको थियो।

तर, आयोगले कम्पनीले साधारणसभाबाट पारित गराएको अनुपातभन्दा कम, अर्थात् २५.१४ प्रतिशत बराबरको मात्र हकप्रद निष्कासन गर्न अनुमति दिएको छ।

राप्ती हाइड्रोले आयोगको पूर्वस्वीकृतिसम्बन्धी पत्र २०८३ असोज ८ गते अपराह्न ५ बजे प्राप्त भएको जानकारी नेप्सेलाई दिएको छ।