मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिले २०८३ असोज ५ गते बसेको बैठकबाट यो निर्णय गरेको हो।

प्रस्तावित लाभांश वितरणका लागि भने नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन हुन बाँकी रहेको मिड सोलुले जनाएको छ। यी प्रक्रिया पूरा भएपछि मात्र सेयरधनीले लाभांश पाउनेछन्।

कम्पनीको हाल चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ छ। यसको १५ प्रतिशतले हुन आउने १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने तयारी गरिएको छ।

यसैगरी, ०.७८९ प्रतिशत नगद लाभांशबापत ६७ लाख ९४ हजार ६८४ रुपैयाँ छुट्याइएको छ। यो नगद लाभांश कर प्रयोजनका लागि रहेको कम्पनीले स्पष्ट पारेको छ।

मिड सोलु हाइड्रोपावर सोलुखुम्बुको सल्लेरीमा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।